एकै रातमा १४ व्यवसाय बन्द, गोठाटारको आगलागीले दर्जनौं परिवारको रोजीरोटी संकटमा
१७ साउन २०८३, आईतबार प्रकाशित
काठमाडौं । शनिबार राति गोठाटारमा भएको भीषण आगलागीले केवल १४ वटा पसल मात्र जलाएन, दर्जनौं परिवारको दैनिक आम्दानीको आधारसमेत एकै रातमा खरानी बनाइदिएको छ।
प्रहरीका अनुसार राति करिब ९:१५ बजे गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरमा करेन्ट सर्ट भएपछि आगलागी सुरु भएको थियो। काठ र अन्य ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिँदै आसपासका व्यवसायमा पुगेको थियो।
आगलागीबाट फर्निचर, मोबाइल, हेल्मेट, अटो रिकन्डिसन, हार्डवेयर, रङ, मिठाई, चिया, किराना, कस्मेटिक र स्टेशनरीसहित १४ वटा पसलमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। आइतबार बिहानदेखि धेरै व्यवसायी जलेका सामानको अवशेष हेर्दै क्षतिको आँकलन गर्न बाध्य भएका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा दमकल टोलीको संयुक्त प्रयासपछि राति ११ बजे आगो नियन्त्रणमा आएको थियो। आगो निभाउन ९ वटा दमकल र ३ वटा पानी ट्याङ्की परिचालन गरिएको थियो।
उद्धारका क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। लडेर घाइते भएका उनलाई मुलपानी नगर अस्पतालमा प्रारम्भिक उपचारपछि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको प्रारम्भिक कारण विद्युत् सर्ट सर्किट रहेको जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको छ। आगलागीपछि प्रभावित व्यवसायीहरूले पुनः व्यवसाय सञ्चालनका लागि सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गरेका छन्।