शंकास्पद च्याटपछि अनुसन्धानको घेरा फराकिलो, महिला कर्मचारीको मृत्यु प्रकरणमा नायब सुब्बा पक्राउ

सुर्खेत,  सुर्खेतमा एक महिला कर्मचारीको मृत्यु प्रकरणमा शंकास्पद च्याट सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा कविलाल विसीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विसी र मृतक चन्द्रा सिंहबीच भएको सन्देश आदानप्रदान (च्याट) प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद देखिएको छ। ती सन्देशका आधारमा विसीले चन्द्रालाई ब्ल्याकमेल गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा मृतकका श्रीमान् महेश बस्नेतले दिएको उजुरीका आधारमा प्रहरीले विसीलाई वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट पक्राउ गरेको हो।

२७ वर्षीया चन्द्रा सिंह वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा सहायक स्तर चौथो तहमा कार्यरत थिइन्। शनिबार बिहान उनी प्रयोगशालाकै आवासगृहको बाथरुममा बेहोस अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बोहोराले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको बताए। उनका अनुसार डिजिटल प्रमाण, मोबाइलमा भएका सन्देश तथा अन्य सम्भावित प्रमाणहरूको समेत परीक्षण भइरहेको छ।

मृतक चन्द्रा जाजरकोटको कुशे गाउँपालिका–९ पैँककी स्थायी बासिन्दा हुन्। उनको विवाह भेरी नगरपालिका–१ कालेगाउँमा भएको थियो। उनका एक छोरी छन्।

प्रहरीले घटनामा कसैको थप संलग्नता रहेको वा नरहेको विषयसमेत अनुसन्धानको दायरामा रहेको जनाएको छ।

प्रतिक्रिया