काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीपछि स्वदेशी तथा विदेशी गरी ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्। बोर्डले यो विवरण प्रारम्भिक रहेको र खोजी तथा प्रमाणीकरणको काम जारी रहेको जनाएको छ।
बुधबार बिहान करिब ८ः३० बजे तिब्बततर्फबाट अचानक ठूलो बाढी भोटेकोशी नदीमा प्रवेश गरेपछि रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीको बहाव नुवाकोट र धादिङसम्म पुगेको छ भने तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको छ।
पर्यटन बोर्डले ट्राभल तथा ट्रेकिङ कम्पनी, टुर गाइड, पर्यटक प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन पर्यटकको अवस्था तथा वास्तविक संख्या यकिन गर्ने काम भइरहेको जनाएको छ। विभिन्न संस्थामार्फत रसुवा पुगेका पर्यटकको विवरणका आधारमा प्रारम्भिक सूची तयार गरिएको हो।
प्रारम्भिक विवरणअनुसार ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना, सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना, लिफ होलिडेका ५५ जना र हिमालयन ग्लेसियरका ५२ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन विदेशीमध्ये भारतीय पर्यटकको संख्या उल्लेख्य रहेको बोर्डको विवरणमा देखिन्छ।
बाढीबाट पर्यटक मात्रै नभई सुरक्षाकर्मी र स्थानीय बासिन्दासमेत प्रभावित भएका छन्। पछिल्लो विवरणअनुसार रसुवाका तीन प्रहरी इकाइमा कार्यरत ३५ प्रहरी अझै सम्पर्कविहीन छन्। टिमुरेस्थित इलाका प्रहरी कार्यालय बाढीले बगाएको र रसुवागढी तथा स्याफ्रुबेँसीका प्रहरी चौकीसमेत प्रभावित भएका छन्।
बाढीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको र विभिन्न स्थानबाट शव फेला परेको विवरण पनि सार्वजनिक भएको छ। नेपाली सेना तथा सुरक्षा निकायले प्रभावित क्षेत्रबाट उद्धार कार्य तीव्र बनाएका छन्। सशस्त्र प्रहरीले हराइरहेका तथा बाढी प्रभावित व्यक्तिको खोजीका लागि ड्रोन र कुकुरसहितको उद्धार टोलीसमेत परिचालन गरेको जनाएको छ।
बाढीको कारणबारे प्रारम्भिक रूपमा तिब्बततर्फ हिमताल फुटेको हुनसक्ने (GLOF) आशंका समेत गरिएको छ, यद्यपि यसको औपचारिक पुष्टि हुन बाँकी छ। चिनियाँ सुरक्षा निकायसँग समेत सम्भावित थप जोखिमबारे सूचना आदानप्रदान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
यसबीच पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटकलाई आधिकारिक सूचनामा भर पर्न, सुरक्षा निकायको निर्देशन पालना गर्न र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ। सम्पर्कविहीन पर्यटकको विवरण प्राप्त हुने क्रम जारी रहेकाले प्रारम्भिक संख्या आगामी अद्यावधिकमा फेरबदल हुन सक्ने बोर्डले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार