काठमाडौं, नेकपा (एमाले)ले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै पार्टीको आगामी संगठनात्मक संरचनाको खाका तयार गरेको छ। चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता, स्थायी कमिटी र केन्द्रीय सदस्यको जिम्मेवारी टुंगो लगाउँदै बाँकी सांगठनिक संरचना निर्माणको जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको हो।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकले पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ।
यससँगै एमालेले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा चयन गरेको छ।
बैठकले ११औँ महाधिवेशनपछि विधानअनुसार केन्द्रीय कमिटीमा मनोनीत गर्न बाँकी सदस्यहरूलाई पनि जिम्मेवारी दिएको छ। एमालेको आधिकारिक विवरणअनुसार ३३ जना केन्द्रीय सदस्य मनोनीत भएका छन्। तीमध्ये २० जनाको नाम पार्टीभित्रबाट र १३ जना अन्य राजनीतिक दलबाट एमालेमा समायोजन भएकाहरूको सूचीमा छन्।
नयाँ संरचनामा खोटाङबाट नन्दराम देवकोटा केन्द्रीय सदस्यमा मनोनीत भएका छन् भने अन्य पार्टीबाट समायोजनतर्फ रवि चामलिङ पनि केन्द्रीय सदस्य बनेका छन्।
केन्द्रीय कमिटीले केही महत्वपूर्ण सांगठनिक काम भने तत्कालै टुंग्याएन। स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन गर्ने, सल्लाहकार परिषद् तथा केन्द्रीय विभाग गठन गर्ने र ज्येष्ठ कम्युनिस्ट मञ्च बनाउनेलगायतका बाँकी कामको निर्णय गर्ने अधिकार सचिवालयलाई प्रत्यायोजन गरिएको छ।
यसरी बैठकले पार्टीको केन्द्रीय संरचनाका महत्वपूर्ण पद र जिम्मेवारी टुंग्याए पनि संगठनका अन्य संरचनालाई पूर्णता दिने जिम्मेवारी अब सचिवालयतर्फ सरेको छ। चार दिनसम्म चलेको बैठकको अर्को महत्वपूर्ण पक्ष अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित हुनु पनि हो।
बैठक समापन गर्दै अध्यक्ष ओलीले एमालेमा उन्नतस्तरको समझदारी र सुदृढ एकता रहेको बताएका छन्। नयाँ जिम्मेवारी बाँडफाँट र बाँकी सांगठनिक संरचना निर्माणको प्रक्रियासँगै एमालेले आगामी संगठनात्मक कामलाई थप व्यवस्थित बनाउने प्रक्रिया अघि बढाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार