साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपाली श्रमिकको मृत्यु, सतर्कता अपनाउन दूतावासको आग्रह

साउदी अरब — साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि रियादस्थित नेपाली राजदूतावासले साउदी अरबमा कार्यरत तथा बसोबास गर्ने नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अनावश्यक रूपमा घरबाहिर ननिस्कन र सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको हो।

दूतावासले सूचना जारी गर्दै सुरक्षा चेतावनी जारी भएका क्षेत्र तथा समयमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, आधिकारिक निकायबाट जारी गरिएका सूचनालाई मात्र विश्वास गर्न र सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक प्रकृतिका तस्बिर तथा भिडियो पोस्ट वा सेयर नगर्न नेपाली नागरिकलाई सचेत गराएको छ।

हवाई यात्राको तयारीमा रहेका नेपालीलाई पनि आफ्नो उडानको अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट जानकारी लिएर मात्र यात्रामा निस्कन दूतावासले अनुरोध गरेको छ। सुरक्षा अवस्थाका कारण उडान तालिकामा परिवर्तन हुन सक्ने भएकाले यात्राअघि उडानको समय र अवस्थाबारे निश्चित गर्न आग्रह गरिएको हो।

त्यस्तै, कुनै समस्या वा आपत्कालीन अवस्था आइपरेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ। आवश्यक सहयोगका लागि दुवै नियोगका आधिकारिक फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।

साउदी अरब नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्यहरूमध्ये एक हो। उपलब्ध विवरणअनुसार त्यहाँ करिब चार लाख नेपाली श्रमिक कार्यरत छन् भने प्रत्येक वर्ष करिब ९० हजार नेपाली रोजगारीका लागि साउदी अरब जाने गरेका छन्।

नेपाली श्रमिकको ठूलो उपस्थिति रहेको साउदी अरबमा पछिल्लो सुरक्षा घटनापछि त्यहाँ रहेका नेपालीको सुरक्षा र अवस्थाबारे चासो बढेको छ। यस्तो अवस्थामा आधिकारिक सूचनाको पालना, अनावश्यक आवतजावतमा नियन्त्रण र आपत्कालीन सम्पर्क माध्यमबारे जानकारी राख्नु महत्त्वपूर्ण देखिएको छ।

प्रतिक्रिया