काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जित निकाल्दै प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको छ। शेर मल्ल र किशोर महतोको घातक बलिङमा सुदूरपश्चिमलाई सस्तैमा समेटेको लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै पूरा गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स लुम्बिनीका बलरको उत्कृष्ट प्रदर्शनसामु टिक्न नसक्दा १७.२ ओभरमा ८७ रनमै अलआउट भयो। किशोर महतोले ४ विकेट तथा शेर मल्लले ३ विकेट लिएपछि सुदूरपश्चिमको ब्याटिङ लाइनअप धराशायी बनेको थियो।
८८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले आक्रामक सुरुआत गर्यो। ओपनर डार्सी सर्ट र आसिफ शेखले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याए।
सर्टले केवल १८ बलमा ४ चौका र ३ छक्कासहित ४० रन बनाए। उनी अनिल खरेलको बलमा शेरफेन रदरफोर्डबाट क्याच आउट भए। अर्का ओपनर आसिफ शेखले २५ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे। उनलाई पनि खरेलले नै आउट गराए।
त्यसपछि क्रिजमा आएका निरोशन डिकवेल्ला १० बलमा ७ रन बनाएर कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए। तर, कप्तान रोहितकुमार पौडेल र शमीम हुसेनले अविजित रहँदै टोलीलाई सहज जित दिलाए। रोहितले ३ बलमा ५ रन बनाए भने शमीमले ३ बलमा १ रन जोडे।
सुदूरपश्चिमका लागि बलिङमा अनिल खरेलले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरीले ३.५ ओभरमा ३१ रन दिएर १ विकेट हात पारे। स्कट कुगेलेइनले २ ओभरमा ३० रन खर्चिए भने हेमन्त धामी र ब्रान्डन म्याकमुलनले क्रमशः १ ओभरमा ५ र ११ रन दिए।
किशोर महतो र शेर मल्लको धारिलो बलिङ तथा ओपनरहरूको आक्रामक ब्याटिङ लुम्बिनीको जितका मुख्य आधार बने। सुदूरपश्चिम भने कमजोर ब्याटिङका कारण ठूलो हार बेहोर्न बाध्य भयो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार