काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह आयोजना गरिनेछ ।
काठमाडौंको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेखीय सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पुराना पुस्ताका चलचित्रकर्मीलाई सम्मान गर्दै नयाँ पुस्तामा कला र सिर्जना हस्तान्तरण गर्नुका साथै काठमाडौंका ओझेलमा परेका कथा र स्थानीय जीवनशैलीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु पनि महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सवमा सहभागी विदेशी चलचित्रकर्मीले नेपाली कलाकार, निर्माता, वितरक, प्रवद्र्धक, प्रदर्शक तथा चलचित्र अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया गर्नेछन् । अभिनेत्री शबाना आजमीले कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा सहभागिता जनाउने कार्यक्रम छ । त्यसैगरी, दीप्ति डीकुन्हाले ‘सिर्जनात्मक सहरहरूको प्रवद्र्धनका लागि फिल्म र महोत्सव’ विषयक प्यानल छलफलमा भाग लिनेछिन् ।
जापानी निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिनेछन् । कात्तिक १५ गते नेपाल पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवबीच चलचित्र सौन्दर्यशास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन् । सोही दिन ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य’ विषयमा प्यानल छलफलसमेत हुनेछ ।
महोत्सवको उद्घाटन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रासहित गरिनेछ । कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’ को प्रदर्शन तथा अवार्ड समारोह आयोजना गरिनेछ ।
नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ । अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत विभिन्न देशका समकालीन, स्वतन्त्र तथा सांस्कृतिक विविधता झल्काउने चलचित्रहरू पनि प्रदर्शन गरिनेछन् ।
महोत्सवमा चीनको ‘डियर यु’, भारतको ‘बयान’, अस्ट्रेलियाको ‘मिस एन प्लेस’, अस्ट्रेलिया–मंगोलियाको ‘स्टेयर्स’, अमेरिकाको ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’, फ्रान्सको ‘ला ग्राभिडा’, दक्षिण कोरियाको ‘द किङ्स वार्डेन’, सिंगापुर–भारतको ‘नट अ हिरो’, जर्मनी–अफगानिस्तानको ‘नो गुड मेन’ र अमेरिकाको ‘द गडफादर’ लगायत चलचित्र प्रदर्शनका लागि छनोट भएका छन् ।
समापनका अवसरमा नेपाली, अमेरिकी, फ्रान्सेली तथा अस्ट्रेलियाली सहकार्यमा बनेको चलचित्र ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गरिनेछ । जापानको यामागाता युनेस्को क्रिएटिभ सिटी अफ फिल्मबाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटिज’ पनि महोत्सवमा देखाइनेछ ।
नेपाली प्रतिभाका चलचित्रलाई प्रोत्साहन पुरस्कार
महोत्सवको ‘नेपाल पानोरामा सर्ट्स’ अन्तर्गत नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
छनोट भएका चलचित्रमा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ रहेका छन् ।
त्यसैगरी, ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकमा आयोजित युवा भिडियो चुनौतीमा प्राप्त ३५ भिडियोमध्ये ११ वटा छनोट भएका छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख ५० हजार रुपैयाँ, द्वितीय हुनेले एक लाख रुपैयाँ र तृतीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
महोत्सवले नेपाली चलचित्रको संरक्षण, स्थानीय प्रतिभाको प्रवद्र्धन तथा काठमाडौंको कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय चलचित्र जगत्मा परिचित गराउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार