सर्वोच्चको नयाँ भवनमा आगलागी, तीन कम्प्युटरसहित केही सामान जले

काठमाडौं,  सर्वोच्च अदालतको नयाँ भवनस्थित मुद्दा फाँटमा भएको आगलागीबाट सामान्य क्षति पुगेको प्रतिवेदन पेस भएको छ। आगलागीबाट तीनवटा कम्प्युटर, कुर्सी, टेबल तथा केही कागजात जले पनि मुद्दाका महत्वपूर्ण मिसिल तथा फाइलहरू सुरक्षित रहेको जनाइएको छ।

बुधबार बिहान भुइँतलामा रहेको मुद्दा फाँटमा आगलागी भएको थियो। घटनापछि तयार पारिएको प्रतिवेदन अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलसमक्ष पेस गरिएको हो।

प्रतिवेदनमा विद्युत् सर्ट भएर आगलागी भएको उल्लेख छ। मुद्दा फाँटका कर्मचारी राजकुमार भट्टका अनुसार बन्द कोठामा रहेको मल्टिप्लगमा विद्युत् सर्ट भएपछि आगलागी भएको थियो।

झ्याल–ढोका बन्द अवस्थामा रहेकाले पर्याप्त अक्सिजन नपाउँदा आगो अन्यत्र फैलिन नपाएको कर्मचारीहरूले बताएका छन्। समयमै प्रहरी र दमकलको टोली पुगेपछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागी भएको फाँटमा अदालतको अवहेलनासम्बन्धी कारबाहीका मिसिल तथा फाइलहरू राखिएका थिए। त्यस्तै, सरकार तथा सरकारी निकायविरुद्ध परेका मुद्दासँग सम्बन्धित फाइलहरू पनि त्यहाँ रहेको बताइएको छ। स्थलगत अध्ययनका क्रममा दराजमा राखिएका ती फाइलहरू सुरक्षित रहेको पाइएको छ।

यसअघि पनि सर्वोच्च अदालतको नयाँ भवनको अन्डरग्राउन्डमा भदौ १७ गते आगलागी भएको थियो। उक्त घटनामा अभिलेख शाखाका केही मिसिल जलेका थिए। सो घटनाबारेको छानबिन प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन।

त्यसैगरी, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट सर्वोच्च अदालतको पुरानो संरचनासहितको ठूलो हिस्सा ध्वस्त भएको थियो।

पछिल्लो आगलागीबाट ठूलो क्षति नभए पनि सर्वोच्च अदालतको नयाँ भवनमा छोटो अवधिमै आगलागीका घटना दोहोरिन थालेपछि विद्युत् तथा सुरक्षा व्यवस्थापनको विषय थप संवेदनशील बनेको छ।

प्रतिक्रिया