काठमाडौं । भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात ‘मोन्था’का कारण आन्ध्र प्रदेशमा ठूलो क्षति पुगेको छ । चक्रवातका कारण धेरै स्थानमा रुख तथा विद्युत्का पोल ढलेका छन् भने विद्युत्, रेल र हवाई सेवा प्रभावित भएका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकारीहरूले विद्यालय बन्द गर्नुका साथै तटीय क्षेत्रका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् ।
बीबीसीका अनुसार चक्रवात तटमा ठोक्किनुअघि तटीय क्षेत्रमा भारी वर्षा भएको थियो । भारतीय मौसम विभागका अनुसार चक्रवात यानमको दक्षिणमा बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा पुगेको थियो । त्यसबेला हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको जनाइएको छ ।
चक्रवातबाट कोनासीमा जिल्लामा मात्रै करिब छ हजार विद्युत्का पोल ढलेका छन् । विद्युत् आपूर्ति अवरुद्ध हुँदा प्रभावित क्षेत्रको जनजीवन कष्टकर बनेको छ । थप जोखिम न्यूनीकरणका लागि केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।
आन्ध्र प्रदेशका ऊर्जा मन्त्री गोट्टिपति रवि कुमारले चक्रवातको प्रभाव कम भएको २४ घण्टाभित्र प्रभावित सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने प्रयास भइरहेको बीबीसी तेलुगुलाई बताएका छन् ।
चक्रवातका कारण रेल सेवा पनि प्रभावित भएको छ । दर्जनौँ रेल रद्द गरिएका छन् भने आन्ध्र प्रदेशभर हवाई उडानसमेत प्रभावित भएको जनाइएको छ ।
राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार तटीय क्षेत्रका करिब ३८ हजार नागरिकलाई सुरक्षित राहत शिविरमा सारिएको छ । आन्ध्र प्रदेश सरकारले जोखिम क्षेत्रमा रहेका करिब ४० लाख मानिस चक्रवातबाट प्रभावित हुन सक्ने अनुमान गरेको छ ।
राज्यका सञ्चारमन्त्री नारा लोकेशका अनुसार प्रभावित नागरिकको उद्धार तथा व्यवस्थापनका लागि एक हजार ९०६ राहत शिविर र ३६४ विद्यालयलाई आश्रयस्थलका रूपमा तयार गरिएको छ । त्यस्तै, जोखिमयुक्त एक हजार २३८ गाउँमा नागरिकलाई सुरक्षित स्थानमा सार्ने अभियान जारी छ ।
आन्ध्र प्रदेशका १९ जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै रेड अलर्ट जारी गरिएको छ । चक्रवातको प्रभावका कारण छिमेकी राज्य तमिलनाडु, तेलङ्गाना, केरला र कर्नाटकमा पनि मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
अधिकारीहरूले चक्रवातको प्रभाव आगामी दुई दिनसम्म रहन सक्ने चेतावनी दिएका छन् । सम्भावित जोखिमबाट बच्न नागरिकलाई सतर्क रहन र प्रशासनले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार