निर्मल पुर्जाको निधनले देश स्तब्ध, विद्वान् गुरुङले भने– ‘नेपालले कहिल्यै नबिर्सिने योगदान छाड्नुभयो’
१६ साउन २०८३, शनिवार प्रकाशित
काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को असामयिक निधनप्रति नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान् गुरुङले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशले एउटा असाधारण व्यक्तित्व गुमाएको बताएका छन्।
फेसबुकमार्फत शोक सन्देश जारी गर्दै गुरुङले पुर्जाले आफ्नो साहस, दृढ संकल्प र अदम्य इच्छाशक्तिका माध्यमबाट नेपालको गौरव विश्वभर फैलाएको उल्लेख गरेका छन्।
‘देशले एक अद्वितीय कीर्तिमानी नक्षत्र गुमाएको छ। अप्ठ्यारो परिस्थितिमा पनि हार नमान्ने तपाईंको जीवन संघर्ष हामी सबैका लागि सधैं प्रेरणाको स्रोत भइरहनेछ। देशप्रतिको तपाईंको योगदानलाई नेपालले कहिल्यै भुल्ने छैन,’ उनले उल्लेख गरेका छन्।
गुरुङले हिमालले पुर्जाको भौतिक शरीर आफूभित्र समेटे पनि उनले विश्वमा स्थापित गरेको नेपालको पहिचान इतिहासमा स्वर्णिम अक्षरले अंकित रहने विश्वास व्यक्त गरेका छन्। साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभचिन्तकप्रति समवेदना प्रकट गरेका छन्।
विश्व पर्वतारोहणमा नयाँ कीर्तिमान रच्दै आएका निर्मल पुर्जा पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परेका थिए। उनी पूरक अक्सिजनबिनै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दुई–दुई पटक आरोहण गर्ने दुर्लभ कीर्तिमान नजिक पुगेका बेला दुर्घटनामा परेका हुन्।
निर्मल पुर्जाको निधनपछि देश–विदेशबाट श्रद्धाञ्जलीको क्रम जारी रहेकामा विभिन्न राजनीतिक, सामाजिक तथा पर्वतारोहण क्षेत्रका व्यक्तित्वहरूले उनको योगदानलाई नेपालको गौरवका रूपमा स्मरण गरिरहेका छन्।