कर्णाली याक्ससँग १९ रनले हार्‍यो जनकपुर बोल्ट्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो ।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । कप्तान हर्मित सिंह र मोइन अलीले समान १९ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कर्णालीको जितमा युनिश ठकुरी र हुसेन तलतले समान तीन–तीन विकेट लिए । उनीहरूको उत्कृष्ट बलिङका अगाडि जनकपुरको ब्याटिङ लाइनअप टिक्न सकेन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए भने पवन सर्राफले ३७ रन जोडे ।

जनकपुरका लागि कप्तान हर्मित सिंहले तीन विकेट लिए । राहुल यादव र मोइन अलीले समान दुई–दुई विकेट हात पारे ।

आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत भोलि एक खेल हुनेछ । उक्त खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रतिक्रिया