विद्यालय जोगाऔं’ अभियानमा साकेला : पहिरोसँग लड्न समुदायको सामूहिक श्रम

खोटाङ । अविरल वर्षापछि गएको पहिरोले जोखिममा परेको खोटाङको साकेला गाउँपालिका–१ डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालयलाई जोगाउन स्थानीय समुदाय एकजुट भएको छ। सरकारी बजेटको प्रतीक्षा नगरी गाउँपालिकाले सञ्चालन गरेको ‘साकेला श्रम अभियान’ अन्तर्गत जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीयवासी आफैं श्रमदानमा उत्रिएपछि विद्यालय संरक्षण अभियानले नयाँ सन्देश दिएको छ।

विद्यालयको भत्किएको पर्खाल जोगाउन र थप क्षति रोक्न रिटेनिङ वाल निर्माण सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्व तथा वडा नं. १ का अध्यक्ष हेमन राईको संयोजनमा ७० जनाभन्दा बढी स्थानीयले सामूहिक श्रमदान गर्दै निर्माण कार्यलाई तीव्र बनाएका छन्।

श्रमदानका क्रममा सहभागीहरूले ढुङ्गा फोर्ने, ढुङ्गा बोक्ने, बालुवा ओसार्ने तथा रिटेनिङ वालका लागि जग तयार गर्ने काम गरेका थिए। जोखिमपूर्ण भूभागमा समेत स्थानीयको सक्रिय सहभागिताले विपद्को सामना सामूहिक प्रयासबाट पनि सम्भव हुने सन्देश दिएको छ।

यस अवसरमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले विद्यालयको संरक्षणलाई केवल भौतिक संरचना बचाउने कामका रूपमा नभई भावी पुस्ताको भविष्य सुरक्षित गर्ने अभियानका रूपमा व्याख्या गरे।

उनले विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी नभई समुदायको साझा दायित्व भएको उल्लेख गर्दै सामूहिक श्रम र सकारात्मक सोचले कुनै पनि चुनौतीलाई अवसरमा बदल्न सकिने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन राईले विद्यालय पूर्ण रूपमा सुरक्षित नहुँदासम्म ‘साकेला श्रम अभियान’ जारी रहने जानकारी दिए। अभियानमा विद्यालयका प्रधानाध्यापक सुनिला राई, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय महिला–पुरुषको उल्लेखनीय सहभागिता रहेको थियो।

श्रमदानमा सहभागीहरूका लागि बेलायतमा बसोबास गर्दै आएका डाँडागाउँका समाजसेवी दीपक राईले खाजाको व्यवस्था गरेका थिए। विदेशमा रहेर पनि गाउँको शिक्षा र विपद्का बेला निरन्तर सहयोग गर्दै आएको उनको योगदानको स्थानीयले प्रशंसा गरेका छन्।

गाउँपालिका सूचना अधिकारी डिएम चाम्लिङका अनुसार ‘साकेला श्रम अभियान’ अहिले विपद् व्यवस्थापन, सार्वजनिक पूर्वाधार संरक्षण र नागरिकको अपनत्व अभिवृद्धि गर्ने प्रभावकारी मोडलका रूपमा स्थापित हुँदै गएको छ। अभियानले विकास निर्माणमा समुदायको प्रत्यक्ष सहभागिता बढाउनुका साथै विपद्का बेला सामूहिक उत्तरदायित्वको संस्कृतिलाई थप बलियो बनाएको उनले बताए।

प्रतिक्रिया