काठमाडौं, लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि लामो दूरीको यातायात प्रभावित भएको छ भने जोखिमयुक्त क्षेत्रमा रातिको आवागमनसमेत रोकिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड, कान्ति लोकपथ र बीपी राजमार्गमा पहिरोका कारण यातायात प्रभावित भएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। राजमार्गको कृष्णभीरलगायत सात स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, चितवन प्रशासनले मुग्लिन–नारायणगढ सडकखण्ड अर्को सूचना नभएसम्म बन्द रहने जनाएको छ।
कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। यता, बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा शुक्रबार बिहान करिब ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण जोखिम बढेका अन्य सडकखण्डमा पनि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार