अविरल वर्षापछि बाढीपहिरोको वितण्डा : ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

काठमाडौं,  असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा अन्य विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ। विपद्मा परी दुई जना घाइते भएका छन् भने प्रभावित क्षेत्रबाट ४०७ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार बाढीपहिरोमा परी बागमती र लुम्बिनी प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार विपद्मा परी घाइते भएका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। लगातारको वर्षापछि आएको बाढी, डुबान र पहिरोका कारण विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, प्रभावित क्षेत्रमा पुगेर उद्धार गर्ने तथा क्षतिको अवस्थाबारे आवश्यक समन्वय गर्ने काम भइरहेको छ।

वर्षा अझै जारी रहेकाले बाढी, डुबान र पहिरोको जोखिम कायम रहेको सुरक्षा निकायले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन्।

प्रतिक्रिया