काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि विभिन्न क्षेत्रमा फसेका ११० जनाको उद्धार गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार साँझसम्म धुन्चे, टिमुरे, मैलुङ, बेतावत्री र त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।
कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५ जना, टिमुरेबाट १३ जना, मैलुङबाट ५ जना, बेतावत्रीबाट ४ जना र त्रिशूली क्षेत्रबाट ३ जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।
बाढी प्रभावित क्षेत्रमा सडक तथा स्थलमार्ग अवरुद्ध भएपछि जोखिममा परेकाहरूको उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका हेलिकप्टर परिचालन गरिएको छ। हेलिकप्टरमार्फत जोखिमयुक्त तथा सडक सम्पर्क टुटेका क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट अचानक ठूलो बाढी प्रवेश गरेपछि टिमुरे, रसुवागढीलगायतका क्षेत्रमा व्यापक क्षति पुगेको थियो। बाढीले सडक, पुल, बजार तथा नदी आसपासका संरचनामा क्षति पुर्याएपछि कतिपय क्षेत्रको स्थल सम्पर्कसमेत विच्छेद भएको छ।
भोटेकोशीको बाढीको प्रभाव रसुवामा मात्र सीमित नभई नुवाकोट, धादिङ हुँदै चितवनसम्म परेको छ। त्रिशूली नदीमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ।
धादिङमा समेत बाढीमा परेकामध्ये विभिन्न स्थानमा ६ जनाको शव फेला परेको र ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीमा बेपत्ता तथा सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धार कार्य भने जारी छ।
प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको छ। सडक र सञ्चार सम्पर्क अवरुद्ध भएका स्थानमा हेलिकप्टरमार्फत उद्धार तथा राहत पुर्याउने कामलाई प्राथमिकता दिइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार