काठमाडौँ ।
संसदीय दलको नेताबाट हटे पनि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा नदिने घोषणा गरेका छन् । उनले मुख्यमन्त्री बाट राजिनामा नदिने घोषणा गरे संगै बागमती प्रदेशको राजनिती पेचिलो बन्दै गएको छ।
मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा संसदीय दलको नेताविरुद्धको अविश्वास प्रस्ताव पारित भएको हो ।
कांग्रेस संसदीय दलमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए । संसदीय दलको नेता पद तत्कालका लागि गुमाए पनि लामाले मुख्यमन्त्रीबाट राजीनामा नदिने घोषणा गरेका छन् ।
‘सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन । मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन,’ मत विभाजनपछि उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भने ।
दलको नेता रिक्त भएपछि चुनावी प्रक्रिया अघि बढ्ने र बुधबार चुनाव हुनसक्ने लामाले बताए । कांग्रेस संसदीय दलको विधान अनुसार बहुमत प्राप्त व्यक्ति नै संसदीय दलको नेता बन्नेछ । आज भएको मत विभाजनअनुसार इन्द्र बानियाको पक्षमा बहुमत देखिएकाले संसदीय दलको नेताको उम्मेदवार उनी नै बन्ने देखिन्छ । तर मुख्यमन्त्रीबाट नहट्ने लामाको अडानले बानियाको मुख्यमन्त्री बन्ने बाटो चुनौतीपूर्ण देखिएको छ ।
बानिया कांग्रेस संसदीय दलको नेता चयन भइहालेको अवस्थामा पनि कुन प्रक्रियाबाट लामालाई मुख्यमन्त्री पदबाट हटाउने भन्ने प्रश्न अनुत्तरित छ । लामाले राजीनामा दिएको अवस्थामा भने अर्को मुख्यमन्त्री चयन प्रक्रिया अघि बढ्न सक्छ । अन्यथा प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्ने हुन्छ । त्यसका लागि सत्ता साझेदार दलले समेत समर्थन जनाउन जरुरी हुन्छ ।
मुख्यमन्त्री बन्नका लागि बानियाले संसदीय दललाई एकढिक्का बनाउनुको साथै सत्ता सहयात्री दल एमालेको समेत समर्थन लिनुपर्ने हुन्छ ।
अहिले ११० सदस्यीय प्रदेश सभामा कांग्रेसको ३७ सांसद छन् । यस्तै, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।
मुख्यमन्त्री बन्न प्रदेश सभामा कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । संसदीय दलको ह्विप लाग्ने हुँदा एमालेको समर्थनमा बानियाँ मुख्यमन्त्री हुन असहज देखिँदैन । तर, त्यसअघि लामाको वहिर्गमन कसरी हुन्छ भन्ने नै अनुत्तरित देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार