काठमाडौं — विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेज विवाह बन्धनमा बाँधिएका छन्। पोर्चुगलको कास्काइसमा मंगलबार भएको निजी नागरिक समारोहसँगै उनीहरूको झन्डै एक दशक लामो प्रेम सम्बन्धले औपचारिक रूप पाएको हो।
रोनाल्डो र जर्जिनाको सम्बन्ध सन् २०१६ तिर सुरु भएको थियो। त्यतिबेला रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका थिए भने जर्जिना म्याड्रिडस्थित गुच्चीको पसलमा काम गर्थिन्। त्यही क्रममा भएको भेट विस्तारै प्रेम सम्बन्धमा परिणत भएको थियो।
जर्जिनाले यसअघि अन्तर्वार्तामा रोनाल्डोसँगको पहिलो भेटमै आफूहरूबीच विशेष सम्बन्ध बनेको बताएकी थिइन्। त्यसपछि उनी रोनाल्डोको जीवनको महत्वपूर्ण हिस्सा बन्दै गइन्।
झन्डै एक दशक लामो सम्बन्धका क्रममा उनीहरूले पाँच सन्तानसहितको परिवार बनाएका छन्। तर यो यात्रामा उनीहरूले गहिरो पारिवारिक पीडासमेत भोगेका छन्। सन् २०२२ मा जुम्ल्याहा सन्तानमध्ये छोराको जन्मका क्रममा मृत्यु भएपछि दुवैले ठूलो दुःख सामना गरेका थिए।
समयसँगै उनीहरूको सम्बन्ध अझ बलियो बन्दै गयो। जर्जिनाले सन् २०२५ अगस्टमा सामाजिक सञ्जालमार्फत रोनाल्डोसँग इन्गेजमेन्ट भएको घोषणा गरेकी थिइन्। उनले ठूलो हिराको औँठीको तस्वीर सार्वजनिक गर्दै विवाहको तयारीको संकेत दिएकी थिइन्।
रोनाल्डोले पनि यसअघि विवाह गर्ने संकेत दिएका थिए। उनले विश्वकपपछि विवाह गर्ने योजना रहेको बताएका थिए। २०२६ को विश्वकपमा पोर्चुगलको यात्रा अन्तिम १६ मै टुंगिएपछि रोनाल्डोको विश्वकप करिअरलाई लिएर विभिन्न अनुमान भइरहेका बेला उनको व्यक्तिगत जीवनमा भने नयाँ अध्याय सुरु भएको हो।
विवाहलाई उनीहरूले भव्य सार्वजनिक समारोहको स्वरूप नदिई निजी राखेका छन्। विवाहपछि दुवैले सामाजिक सञ्जालमा हातमाथि हात राखिएको तस्वीर सार्वजनिक गरेका छन्, जसमा उनीहरूको विवाहका औँठी देखिन्छन्।
रोनाल्डोसँगको सम्बन्धपछि जर्जिनाको लोकप्रियता पनि विश्वव्यापी रूपमा बढेको छ। मोडल तथा सामाजिक सञ्जाल व्यक्तित्वका रूपमा स्थापित जर्जिनाको जीवनमा आधारित ‘I Am Georgina’ नामक नेटफ्लिक्स शृंखलाले समेत उनलाई अन्तर्राष्ट्रिय दर्शकमाझ थप परिचित बनाएको छ।
४१ वर्षीय रोनाल्डो पाँच पटकका बालोन डी’ओर विजेता हुन् र आधुनिक फुटबलका सर्वाधिक चर्चित खेलाडीमध्ये एक मानिन्छन्। अर्कोतर्फ, ३२ वर्षीया जर्जिना मोडलिङसँगै सामाजिक सञ्जाल र मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्।
यसरी रोनाल्डो र जर्जिनाको विवाह केवल दुई चर्चित व्यक्तिको वैवाहिक सम्बन्ध मात्र होइन, म्याड्रिडको एउटा गुच्ची स्टोरबाट सुरु भएको सम्बन्धले झन्डै एक दशकपछि विवाहको औपचारिक रूप लिएको कथा पनि बनेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार