नागढुंगामा रोकिए सयौं सवारी, वर्षाका कारण उपत्यका बाहिरिने नाका प्रभावित

काठमाडौं, लगातारको वर्षापछि सम्भावित सडक जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगामा सवारीसाधनको आवागमन रोकिँदा यात्रु तथा चालकहरू प्रभावित भएका छन्।

बिहीबार साँझ ८ बजेदेखि नागढुंगा क्षेत्रमा यात्रुवाहक बस, मालवाहक ट्रक, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन रोकिएका छन्। नागढुंगा–नौबिसे सडकखण्डमा वर्षाका कारण पहिरो जाने, ढुंगा खस्ने तथा सडकमा लेदो आउने जोखिम रहेकाले तत्काल सवारीसाधन अघि बढाउन रोक लगाइएको हो।

नागढुंगा हुँदै धादिङ, चितवन, पोखरा, गोरखा लगायतका जिल्लातर्फ जाने सवारीसाधन रोकिएपछि लामो दूरीका यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन्। मालवाहक सवारीसाधन पनि रोकिँदा चालक तथा सहचालकहरू नागढुंगा क्षेत्रमा नै बस्न बाध्य भएका छन्।

सडकको अवस्था जोखिमपूर्ण रहेसम्म सवारीसाधन सञ्चालन गर्न नदिइने र मौसम तथा सडकको अवस्था सामान्य भएपछि सुरक्षा निकायको समन्वयमा क्रमशः गन्तव्यतर्फ पठाइने बताइएको छ।

लगातारको वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा थप सवारी चाप बढ्न सक्ने भएकाले यात्रुलाई तत्काल लामो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ। यात्रा गर्नैपर्ने अवस्था भए सडकको पछिल्लो अवस्था बुझेर मात्र प्रस्थान गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

वर्षा नरोकिएमा सडकखण्डका जोखिमयुक्त स्थानमा थप अवरोध आउन सक्ने भएकाले सवारी सञ्चालनमा मौसम र सडकको अवस्थालाई मुख्य आधार बनाइने जनाइएको छ।

प्रतिक्रिया