स्थानीयले दिएको जग्गाबाट आफ्नै भवनसम्म पुग्यो दिप्रुङ चुइचुम्माको प्रशासन

खोटाङ, भदौ २२ । स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा अस्थायी टहराबाट प्रशासनिक सेवा दिँदै आएको खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अब आफ्नै स्थायी भवनबाट सेवा सुरु गरेको छ। सात वर्षअघि सुरु भएको प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाले आइतबारदेखि नयाँ भवनबाट नियमित सेवा प्रवाह थालेको हो।

वडा नम्बर ५ याङसोलाटारका स्थानीय होमप्रसाद राई, हरकराज राई, भीविन्द्र राई र इन्द्रप्रकाश राईले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि करिब सात रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए। स्थानीयले उपलब्ध गराएको त्यही जग्गामा निर्माण भएको चारतले भवनबाट अब गाउँपालिकाका सबै प्रशासनिक सेवा सञ्चालन हुनेछन्।

२७ वटा कोठा रहेको भवनको गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापा मगरले आइतबार उद्घाटन गरेका हुन्। भवन उद्घाटनपछि अध्यक्ष राईले आफ्नै प्रशासनिक भवन प्राप्त हुनु महत्वपूर्ण भए पनि भौतिक संरचना थपिनु मात्रै गाउँपालिकाको उपलब्धि नहुने बताए।

उनका अनुसार नयाँ भवनसँगै जनताले पाउने सेवा र सुविधामा पनि परिवर्तन देखिनुपर्छ। त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले आफ्नो कार्यशैलीलाई थप सेवामुखी बनाउनुपर्नेमा उनले जोड दिए।

‘प्रशासकीय भवन र संरचना मात्रै सुविधाजनक र नयाँ भएर हुँदैन, जनताले पाउने सुविधा र सेवामा पनि नयाँपन आउनुपर्छ,’ अध्यक्ष राईले भने। त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले आफूलाई अझ बढी सेवामुखी बनाएर काम गर्नुपर्ने उनको भनाइ थियो।

प्रशासनिक भवन निर्माणका लागि २०७७ साल असार ३० गते रविना–अविसा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०८० साल असार २२ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि भवन निर्धारित समयभन्दा करिब ६ वर्ष २ महिना ढिला गरी सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी मुकेश गेलालले जानकारी दिए।

प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको भवनको लागत अनुमान ४ करोड ९५ लाख ९७ हजार ७१५ रुपैयाँ थियो। निर्माण कम्पनीले भने भ्याटसहित ३ करोड ७५ लाख ४९ हजार ३३२ रुपैयाँमा भवन निर्माण सम्पन्न गरेको हो।

नयाँ भवनमा आवश्यक फर्निचरसमेत व्यवस्था गरिएको छ। त्यसका लागि इन्द्रलक्ष्मी कन्स्ट्रक्सनसँग ९३ लाख ६२ हजार २१० रुपैयाँमा सम्झौता गरिएकोमा ६४ लाख ३३ हजार ५५५ रुपैयाँ खर्च भएको सूचना अधिकारी गेलालले बताए। फर्निचर खरिदको सम्झौता २०८० साल भदौ ३१ गते भएको थियो।

गाउँपालिकाको प्रशासनिक भवन निर्माणको पहल तत्कालीन गाउँपालिका अध्यक्ष तथा प्रदेशसभा सदस्य भूपेन्द्र राई नेतृत्वको जनप्रतिनिधिको टोलीले अघि बढाएको थियो।

अस्थायी टहराबाट प्रशासनिक सेवा दिँदै आएको गाउँपालिकाले स्थायी भवन पाएसँगै कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक आधार पूरा गरेको छ। अब स्थानीयले उपलब्ध गराएको जग्गामा बनेको उक्त भवनबाट जनप्रतिनिधि र कर्मचारीले कति सहज, छरितो र सेवामुखी ढंगले सेवा दिन सक्छन् भन्ने कुरा गाउँपालिकाको आगामी कार्यसम्पादनको मुख्य परीक्षा बन्नेछ।

प्रतिक्रिया