काठमाडौं, सहरी क्षेत्रमा बढ्दो अत्यधिक गर्मीको जोखिम पहिचान गर्ने प्रविधि विकास गर्दै नेपाली दिदीभाइले अन्तर्राष्ट्रिय एआई प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका छन्। जेनिश र जस्ना बुढाथोकीको ‘हिट स्केप’ टोलीले आईटीयू एआई एन्ड स्पेस कम्प्युटिङ च्यालेन्ज २०२६ मा विश्वभरबाट सातौँ स्थान हासिल गरेको हो।
संयुक्त राष्ट्रसंघको ‘एआई फर गुड’ पहलअन्तर्गत आयोजित प्रतियोगितामा उनीहरूको टोलीले ‘स्पेस इन्टेलिजेन्स फर रेजिलिएन्ट सिटिज’ ट्र्याकमा प्रतिस्पर्धा गरेको थियो। उत्कृष्ट प्रदर्शन गरेपछि टोलीलाई कास्य पदकसहित नगद पुरस्कार प्रदान गरिएको छ।
‘हिट स्केप’ ले स्याटेलाइटबाट प्राप्त तस्बिर प्रयोग गरी सहरी क्षेत्रका विभिन्न छिमेकमा भूमि सतहको तापक्रम मापन गर्ने प्रणाली विकास गरेको थियो। अत्यधिक गर्मीबाट कुन क्षेत्र बढी प्रभावित छन् भन्ने पहिचान गर्ने उद्देश्यले परियोजना तयार गरिएको थियो।
परियोजनामा भौतिकीमा आधारित मोडलिङ र मेसिन लर्निङ प्रविधिलाई एकीकृत गरिएको थियो। प्रतियोगितामा विश्वभरका पेशेवर तथा स्नातकस्तरीय टोलीबाट १०० भन्दा बढी आवेदन परेको थियो भने अन्तिम लिडरबोर्डमा ‘हिट स्केप’ ले ९९.१५ को बायस रेटिङ हासिल गरेको थियो।
१९ वर्षीय जेनिशले प्रतियोगिताको सुरुदेखि अन्तिम चरणसम्म टोलीको नेतृत्व गरेका थिए। हाईस्कुल पूरा गरेपछि कलेज अध्ययन सुरु गर्नुअघि उनले ड्युक विश्वविद्यालयमा जलवायु डेटासम्बन्धी अनुसन्धानमा काम गरेको अनुभवलाई परियोजनामा उपयोग गरेका थिए।
उनकी २६ वर्षीया दिदी जस्नाले परियोजनाको कोडिङ पक्ष सम्हाल्दै तापक्रम पूर्वानुमानलाई परिष्कृत गर्ने मेसिन लर्निङ मोडल विकास गरेकी थिइन्। उनी अमेजनमा सफ्टवेयर डेभलपमेन्ट इन्जिनियरका रूपमा कार्यरत छिन् र हालै कोलम्बिया विश्वविद्यालयबाट स्नातक भएकी हुन्।
दुवैजना ललितपुरस्थित रातो बाङ्गला स्कुलका पूर्वछात्र हुन्। प्रतियोगितामा प्राप्त सफलता उनीहरूको प्रविधि र जलवायु अनुसन्धानमा रहेको रुचि तथा अनुभवको संयोजनका रूपमा हेरिएको छ।
टोलीलाई जेनेभामा आयोजित ‘एआई फर गुड ग्लोबल समिट’मा सम्मान गरिएको थियो। जेनिशले यसै शरद ऋतुमा अमेरिकाको म्याकालेस्टर कलेजमा आफ्नो पहिलो सेमेस्टर सुरु गर्ने तयारी गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार