ग्यास आपूर्तिको विवादबीच दीपक साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी, अब ‘अभाव’को गाँठो फुकाउने परीक्षा

काठमाडौं,  ग्यास आपूर्तिमा देखिएको समस्या र व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरेको विषयमा प्रश्न उठिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व फेरिएको छ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथ गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद साहले पूर्वमन्त्री गौरीकुमारी यादवको स्थानमा मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

यादवको बहिर्गमनसँगै मन्त्रालयमा एउटा महत्वपूर्ण प्रश्न पनि छाडिएको छ—अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आउँदा सरकार जनताको पक्षमा उभिने कि व्यवसायीको दबाबअनुसार चल्ने ?

यादवले ग्यास आपूर्तिमा व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरेको हुनसक्ने संकेत गर्दै दिएको अभिव्यक्ति विवादमा परेको थियो । उनको अभिव्यक्ति उपभोक्ताको समस्या र बजारमा सहज आपूर्तिको विषयसँग जोडिए पनि त्यसले व्यवसायी तथा बिचौलियाको स्वार्थमा धक्का पुगेपछि उनलाई राजीनामा दिन बाध्य पारिएको आरोपसमेत उठेको छ ।

यादवको अभिव्यक्ति गलत थियो वा थिएन भन्ने बहस आफ्नै ठाउँमा भए पनि, उनको राजीनामाले ग्यास आपूर्ति प्रणालीभित्रको समस्या भने ओझेलमा पार्न नहुने आवाज उठेको छ । उपभोक्ताले ग्यासका लागि सास्ती बेहोर्नुपर्ने र बजारमा अभाव देखिँदा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अब नयाँ मन्त्रीतर्फ सोझिएको छ ।

मन्त्री साहका लागि मन्त्रालयको नेतृत्व सम्हाल्नु केवल प्रशासनिक जिम्मेवारीको विषय नभई बजारमा कृत्रिम अभाव रोक्ने, उपभोक्ताको हित सुरक्षित गर्ने र व्यवसायी तथा सरकारबीचको सम्बन्धलाई पारदर्शी बनाउने परीक्षासमेत बनेको छ ।

अब साहले पूर्वमन्त्री यादवले उठाएको प्रश्नलाई दबाउनेभन्दा त्यसको वास्तविकता खोज्ने प्रयास गर्छन् कि गर्दैनन् भन्ने कुराले पनि उनको कार्यकालको सुरुआती दिशा तय गर्ने देखिन्छ ।

प्रतिक्रिया