गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको कृति विमोचन, स्रष्टाको योगदानलाई संस्थागत सम्मान

काठमाडौं,

 नेपाली साहित्य, पत्रकारिता र समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आएका गोपाल कोइराला ‘त्यागी’को योगदानलाई सम्मान गर्दै उहाँमाथि लेखिएको कृति ‘एउटा अथक योद्धा गोपाल कोइराला "त्यागी"’ सार्वजनिक गरिएको छ। बानेश्वर सर्जक समाजको आयोजनामा काठमाडौंको बागमती करिडोरस्थित बेस्ट वेस्टर्न प्लस, पिङ्गलास्थानमा आयोजित कार्यक्रममा पुस्तक विमोचनसँगै विभिन्न साहित्यिक तथा सामाजिक संस्थाले ‘त्यागी’लाई अभिनन्दन तथा सम्मान गरेका हुन्।

नेपाल सरकारका पूर्वसचिव तथा जलस्रोतसम्बन्धी अध्येता श्री द्वारिकानाथ ढुंगेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुस्तक विमोचन गर्दै उनले राष्ट्र, समाज र साहित्यप्रति समर्पित व्यक्तित्वहरूको योगदानलाई पुस्तौँसम्म जीवित राख्न यस्ता कृतिहरू महत्वपूर्ण हुने बताए। उनले गोपाल कोइराला ‘त्यागी’ले पत्रकारिता, साहित्य, सामाजिक चेतना तथा राष्ट्रिय सरोकारका विषयमा पुर्‍याएको योगदान अनुकरणीय रहेको उल्लेख गरे।

बानेश्वर सर्जक समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार महेश प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव तथा साहित्यकार गोपी मैनाली, वरिष्ठ इतिहासविद् तथा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र के.सी., वरिष्ठ पत्रकार, समालोचक तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार प्रा. डा. खेम कोइराला बन्धु (खेकोब), डा. हरि सिलवाल, डा. विनोद मञ्जन, ठाकुरप्रसाद शर्मा भण्डारी, युवराज मैनाली, पुस्तक प्रकाशक तथा पद्मा भागीरथा प्रकाशनकी अध्यक्ष किरण कोइराला ‘हमला’ तथा कृतिका केन्द्रबिन्दु गोपाल कोइराला ‘त्यागी’को विशेष उपस्थिति रहेको थियो।

शुभकामना मन्तव्य राख्दै प्रा. डा. खेम कोइराला बन्धु, ठाकुरप्रसाद शर्मा भण्डारीयुवराज मैनालीले ‘त्यागी’को साहित्यिक यात्रा, समाजप्रतिको समर्पण र राष्ट्रिय विषयमा देखाएको सक्रियताले नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताए। विशेष मन्तव्यका क्रममा **प्रा. डा. सुरेन्द्र के.सी.**ले समाज परिवर्तनमा योगदान दिएका व्यक्तित्वहरूको जीवन र कार्यलाई पुस्तकमार्फत अभिलेखीकरण गर्नु समयको आवश्यकता भएको धारणा राखे।

कार्यक्रममा विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक संस्थाले गोपाल कोइराला ‘त्यागी’लाई सम्मानपत्र, अभिनन्दनपत्र तथा मायाको चिनो प्रदान गरेका थिए। नागार्जुन वाङ्मय प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानका पूर्वअध्यक्ष रोजन राईले ‘त्यागी’लाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।

समारोहमा प्रा. डा. घमानसिंह खड्का, प्रा. डा. केदार न्यौपाने, प्रा. डा. विष्णु राई, शिवकुमार भट्टराई, डा. शोभेन्द्र प्रकाश नेपाल, हरिभक्त सिग्देल ‘महेश’, वामनप्रसाद न्यौपाने, विष्णु पन्तलगायतका साहित्यकार, शिक्षाविद् तथा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दायित्व वाङ्मय प्रतिष्ठान, मुक्तिनाथ दर्शन साहित्य समाज, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, लहरा साहित्यिक त्रैमासिक, चेत स्मृति प्रतिष्ठान, लालित्य सिर्जना समाज, नोबेल साकोस साहित्य संस्था, वनिता त्रैमासिक र गोधुली कला साहित्य प्रतिष्ठानलगायत संस्थाले पनि ‘त्यागी’प्रति सम्मान प्रकट गरेका थिए।

कार्यक्रमको सञ्चालन तेजेन्द्र प्रसाईँले गरेका थिए। समापनका क्रममा आयोजक बानेश्वर सर्जक समाजले स्रष्टाको योगदानको सम्मान गर्दै यस्ता साहित्यिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो।

प्रतिक्रिया