लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीको टोली खोजीमा

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । मंगलबार दिउँसो नदीमा नुहाउन गएका उनीहरू पानीमा डुबेपछि सम्पर्कविहीन भएका हुन् ।

बेपत्ता हुनेमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।

स्थानीयका अनुसार उनीहरू दिउँसो करिब २ बजे लालबकैया नदीमा नुहाउन पसेका थिए । नुहाउने क्रममा तीनै जना गहिरो पानीमा पुगेपछि डुबेर बेपत्ता भएको बताइएको छ ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजीमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना तथा इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली खोजी तथा उद्धारमा खटिएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको थप टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिएका छन् ।

तीन बालबालिका एकैपटक बेपत्ता भएपछि स्थानीयमा त्रास फैलिएको छ भने सुरक्षाकर्मीले नदीको सम्भावित क्षेत्रमा खोजीलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया