काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले रोजगारीको अवधि र सेवासुविधाको अनिश्चितताविरुद्ध अनिश्चितकालीन आन्दोलन थालेका छन्।
एक वर्षमा हुँदै आएको करार सम्झौता घटाएर दुई महिनामा सीमित गरिएपछि कर्मचारी थप असुरक्षित बनेको भन्दै देशभरबाट दुई हजारभन्दा बढी कर्मचारी सोमबार सानोठिमीस्थित सीटीईभीटी केन्द्रीय कार्यालय पुगेका हुन्।
आन्दोलनरत कर्मचारीका अनुसार परिषद्मा लामो समयदेखि काम गरिरहेका कर्मचारीसमेत स्थायी हुन सकेका छैनन्। सीटीईभीटीमा सिर्जित ९३२ स्थायी दरबन्दीमध्ये ५२९ पदमा मात्र पदपूर्ति भएको र ठूलो जनशक्ति करार तथा ज्यालादारीमा निर्भर रहेको उनीहरूको भनाइ छ।
कर्मचारीहरूले दुई महिनाको करार व्यवस्था हटाएर दीर्घकालीन रोजगारीको व्यवस्था गर्नुपर्ने, सेवाबाट हटाइएकालाई पुनः काममा फर्काउनुपर्ने तथा सामाजिक सुरक्षा र अन्य सेवा–सुविधा उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।
संघर्ष समितिका अनुसार हाल ७४ कर्मचारीलाई कामबाट हटाइएको छ भने १ हजार ५३२ करार कर्मचारीलाई दुई महिनाको सम्झौतामा राख्ने व्यवस्था गरिएको छ। ४२६ पद रिक्त राखिएको दाबी पनि कर्मचारीको छ।
तर सीटीईभीटी प्रशासनले भने कतिपय शिक्षालयमा विद्यार्थी संख्या घटेको र सरकारले बजेट कटौती गरेका कारण सबै कर्मचारीसँग तत्काल करार सम्झौता गर्न नसकिएको जनाएको छ। प्रशासन महाशाखा प्रमुख दामोदर देवकोटाका अनुसार आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गर्न रोस्टर तयार गर्ने तयारी भइरहेको छ।
कर्मचारीहरूले आफ्ना नौबुँदे माग सम्बोधन नभएसम्म बिहान १० बजेदेखि केन्द्रीय कार्यालयबाहिर धर्ना जारी राख्ने बताएका छन्। सीटीईभीटीले भने आन्दोलनरत कर्मचारीका प्रतिनिधिसँग वार्ता भइरहेको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार