काठमाडौं, सिरहाको गोलबजारमा हिन्दु–मुस्लिम समुदायबीच शान्ति, सद्भाव र आपसी भाइचारा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित संयुक्त श्रद्धाञ्जली कार्यक्रम राजनीतिक अभिव्यक्तिका कारण विवादमा परेको छ।
सुनसरीका तीन र सिरहाका एक मृतकप्रति संयुक्त श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा दुवै समुदायका नागरिक, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य पछिल्ला घटनापछि समुदायबीच विश्वास र एकता कायम गर्ने सन्देश दिनु थियो।
तर, कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तपेश्वर यादवले स्थानीय केही राजनीतिक दल र व्यक्तिलाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि वातावरण एकाएक तनावग्रस्त बनेको थियो।
उनको भनाइप्रति असन्तुष्टि जनाउँदै अन्य राजनीतिक दलका कार्यकर्ता तथा समर्थकहरूले विरोध गरेपछि कार्यक्रमस्थलमा भनाभन सुरु भएको थियो। विवाद बढ्ने संकेत देखिएपछि नेपाल प्रहरीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएको थियो।
प्रहरीले सम्भावित अप्रिय अवस्था टार्न सांसद यादवलाई सुरक्षा व्यवस्थासहित कार्यक्रमस्थलबाट बाहिर निकालेपछि अवस्था सामान्य बनेको थियो।
सामाजिक सद्भावको सन्देश दिन आयोजना गरिएको कार्यक्रम अन्ततः राजनीतिक विवादका कारण चर्चाको विषय बनेको छ। स्थानीयले यस्ता संवेदनशील कार्यक्रममा राजनीतिक आरोप–प्रत्यारोपभन्दा सामाजिक एकतालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार