कांग्रेस इतर पक्षले खोटाङ अधिवेशनको निर्वाचन अधिकृत तोक्यो

खोटाङ,  नेपाली कांग्रेसको संस्थापनइतर पक्षले खोटाङमा हुने १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन गराउन महाप्रसाद आचार्यलाई जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।

दिक्तेल बजारका आचार्यलाई संस्थापनइतर पक्षको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सञ्चालन गर्ने जिम्मेवारी दिइएको कोशी प्रदेश कांग्रेसका महामन्त्री भूपेन्द्रकुमार राईले जानकारी दिए।

महामन्त्री राईका अनुसार केन्द्रीय निर्वाचन समितिले आचार्यलाई खोटाङमा जिल्ला निर्वाचन अधिकृतका रूपमा पठाएको हो।

‘केन्द्रीय निर्वाचन समितिले हाम्रो खोटाङमा महाप्रसाद आचार्यलाई निर्वाचन अधिकृतका रूपमा पठाएको छ,’ राईले भने, ‘उहाँले जिल्लामा अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउनुहुनेछ।’

जिम्मेवारी पाएसँगै आचार्यले खोटाङमा अधिवेशनको तयारीसम्बन्धी काम अघि बढाएका छन्। उनले असोज १३ गतेभित्र निर्वाचन कार्यालय स्थापना गरेर अधिवेशनको औपचारिक प्रक्रिया सुरु गर्ने तयारी भइरहेको बताए।

आचार्यका अनुसार निर्वाचन कार्यालय स्थापना गरेपछि जिल्लाका ७९ वटै वडामा अधिवेशनका लागि निर्वाचन प्रतिनिधि खटाइनेछ। यसका लागि नेपाली कांग्रेस खोटाङका जिल्ला संयोजकसँग आवश्यक छलफल तथा समन्वय भइरहेको उनले जानकारी दिए।

‘जिम्मेवारी पाएपछि जिल्ला संयोजक सँग सरसल्लाह भइरहेको छ। असोज १३ गतेसम्म निर्वाचन कार्यालय स्थापना गरेर ७९ वटै वडामा अधिवेशनका लागि निर्वाचन प्रतिनिधि खटाउने तयारीमा छौँ,’ आचार्यले भने।

संस्थापनइतर पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी छ। त्यसपछि असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका रहेको छ।



प्रतिक्रिया