काठमाडौं, लगातारको भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेपछि शनिबार देशका २५ जिल्लामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ।
वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा सडकको अवस्था जोखिमपूर्ण बन्दै गएपछि सडक विभागले जिल्लागत रूपमा सवारी आवागमनसम्बन्धी व्यवस्था गरेको हो। उच्च जोखिममा रहेका जिल्लामा दिन र रात दुवै समयमा सवारी सञ्चालन नगर्न भनिएको छ।
सवारी सञ्चालनमा पूर्ण रोक लगाइएका जिल्लामा हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके र बर्दियालगायत २५ जिल्ला रहेका छन्।
त्यस्तै २९ जिल्लामा रातको समयमा मात्रै सवारी आवागमन बन्द गर्न भनिएको छ। रातिको समयमा थप जोखिम हुन सक्ने भएकाले ती जिल्लामा राति सवारी नचलाउने व्यवस्था गरिएको हो। दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा र धादिङ लगायतका जिल्ला यस समूहमा छन्।
बाँकी २३ जिल्लालाई भने सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ। ती जिल्लामा सडकको अवस्था, वर्षाको मात्रा तथा स्थानीय जोखिम हेरेर आवश्यक निर्णय लिनुपर्ने व्यवस्था गरिएको छ।
वर्षाका कारण देशका विभिन्न सडकखण्डमा पहिरो खस्ने, सडक भासिने तथा बाढीले सडक डुबाउने जोखिम बढेको छ। कतिपय स्थानमा सडक अवरुद्ध भइसकेकाले यात्रा गर्नेहरूले सम्बन्धित निकायबाट जारी हुने पछिल्लो सूचना हेरेर मात्रै यात्रा गर्नुपर्ने अवस्था छ।
सडक विभागले विशेषगरी जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्रै सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ।
वर्षा निरन्तर रहेकाले सवारी चालक तथा यात्रुले सडकको अवस्था र स्थानीय प्रशासनको निर्देशनलाई प्राथमिकतामा राख्नुपर्ने विभागले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार