अख्तियारमाथि दबाबको दाबी प्रमाणित गर्न रास्वपा सांसद न्यौपानेको माग

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दबाब दिइएको भनिएको विषयलाई अब सार्वजनिक आरोपमा सीमित नराखी तथ्य र कानुनी प्रक्रियाबाट स्पष्ट गर्न माग गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती मुद्दा चलाउन निर्देशन दिइएको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै त्यसको प्रमाण र आधिकारिक धारणा माग गरे।

न्यौपानेले प्रधानमन्त्री कार्यालयबाट गैरकानुनी दबाब परेको भए अख्तियारका पदाधिकारीले त्यसविरुद्ध उजुरी वा अन्य कानुनी प्रक्रिया अघि बढाएको हुनुपर्ने बताए। सञ्चारमाध्यममा मात्रै विषय उठाएर संस्थागत रूपमा कुनै कदम नचालिएको भए त्यसको औचित्यमाथि समेत उनले प्रश्न गरे।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तपाईंहरूविरुद्ध गैरकानुनी काम गरेको हो भने त्यसका विरुद्ध तपाईंहरूले मुद्दा उठान गर्नुभयो कि भएन? उजुरी कतै हाल्नुभयो कि भएन?’ उनले प्रश्न गरे।

समाचारमा आएको विषय गलत भए त्यसको खण्डन मात्रै नभई सम्बन्धित सञ्चारमाध्यमविरुद्ध कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो। तर आरोप सत्य भए अख्तियारका पदाधिकारीले घटनाको तथ्य सार्वजनिक गरेर आफ्नो संस्थागत स्वायत्तता जोगाउनुपर्ने उनले बताए।

न्यौपानेले अख्तियारले बाह्य दबाबमा अनुसन्धान वा अभियोजनको निर्णय गर्न नहुने भन्दै कुनै व्यक्तिविरुद्ध मुद्दा चलाउने विषय दबाबका आधारमा तय हुन नसक्ने बताए।

‘भोलि कुनै निकायले तपाईंहरूलाई प्रेसर गर्‍यो र मेरो सभापतिमाथि मुद्दा उठान गर्दै भनेर ७ घण्टाको ठाउँमा ९ घण्टा राखिदियो भने मुद्दा उठान गर्ने? यो त हुँदैन होला नि,’ उनले भने।

उनले अख्तियारमाथि दबाब परेको हो वा होइन भन्ने विषयमा आयोगका पदाधिकारीबाटै स्पष्ट जवाफ आउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया