अस्पताल परिसरबाहिरै बच्चा जन्मिएपछि गजेन्द्रनारायण अस्पतालसँग स्पष्टीकरण माग
२५ भदौ २०८३, बिहिबार प्रकाशित
राजविराज — राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाबारे मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण माग्दै तत्काल छानबिन टोली राजविराज पठाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने बताएकी छन्। छानबिनका क्रममा अस्पताल वा सम्बन्धित व्यक्तिको गल्ती वा लापरबाही देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।
मन्त्री मेहताले सामाजिक सञ्जालमार्फत हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार रहेको उल्लेख गरेकी छन्।
उनका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको हो। टोलीले घटनाको अवस्था र त्यसमा अस्पताल वा सम्बन्धित पक्षको भूमिका अध्ययन गर्नेछ।
मन्त्रालयले छानबिनको निष्कर्षका आधारमा आवश्यक कदम चाल्ने जनाएको छ। अस्पताल परिसरमै उपचारको पहुँच नपाएर महिलाले बाहिरै बच्चा जन्माउनुपरेको घटनाले स्वास्थ्य संस्थामा सेवा प्रवाह र बिरामीप्रतिको व्यवहारमाथि प्रश्न उठाएको छ।