कांग्रेस एक हुन नसके राष्ट्र नै संकटमा पर्छ : डा. शशांक कोइराला

   काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको विभाजन अन्त्य गर्दै कांग्रेसलाई पुनः एकढिक्का बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

पूर्वसभापति शेरबहादुर देउवा समूहको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले कांग्रेसको वर्तमान अवस्था चिन्ताजनक रहेको बताए । उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी थप विभाजित बनेको उल्लेख गर्दै यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा राखे ।

“विगतमा पनि कांग्रेसभित्र समूह थिए, मतभेद थिए । तर अहिले जस्तो अवस्था थिएन,” उनले भने, “पार्टी फुट्नु आफैंमा दुःखद विषय हो । यसले कांग्रेसको शक्ति कमजोर बनाएको छ ।”

वीपी कोइरालाको राजनीतिक विरासत सम्झँदै उनले अहिलेको कांग्रेसको अवस्था देख्दा आफूलाई पीडा हुने बताए । “हिजो जनताको भरोसाको पार्टी आज कमजोर बन्दै गएको छ । यसको असर चुनावी परिणाममा समेत देखिइसकेको छ,” उनले बताए ।

डा. कोइरालाले पार्टी एकताका लागि संवाद र सहमतिमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले १५औँ महाधिवेशनलाई लक्षित गर्दै दुवै पक्षका शीर्ष नेताहरूलाई समेटेर सहमतिको वातावरण बनाउनुपर्ने बताए ।

उनले कांग्रेस कमजोर बने देशको लोकतान्त्रिक भविष्यसमेत असुरक्षित बन्न सक्ने चेतावनी दिए । “नेपाली कांग्रेस एक नभए देशमा अस्थिरता बढ्न सक्छ । संविधान र लोकतन्त्रको रक्षा गर्न कांग्रेस बलियो र एकताबद्ध हुनैपर्छ,” उनले भने ।

आफूलाई कुनै पद वा व्यक्तिगत स्वार्थ नभएको उल्लेख गर्दै उनले पार्टीको एकता नै अहिलेको मुख्य आवश्यकता भएको बताए । “मलाई केही चाहिएको छैन । मेरो चाहना केवल कांग्रेस एक होस् भन्ने हो,” उनले भने, “पार्टी जोगियो भने राष्ट्र जोगिन्छ ।”

प्रतिक्रिया