नारायणीमा पानीको सतह बढेपछि सुस्ता डुबानमा, स्थानीयको उद्धार तीव्र

नवलपरासी,  नारायणी नदीमा आएको बाढी सुस्ता गाउँपालिका–५ स्थित सुस्ता बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। बाढीका कारण सुस्ताका १०० भन्दा बढी घर डुबानमा परेका छन्।

बस्तीमा पानी पस्न थालेलगत्तै जिल्ला प्रशासन कार्यालय नवलपरासीले सुरक्षाकर्मी परिचालन गरी स्थानीयको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरेको जनाएको छ। सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालका अनुसार नारायणी नदीको बाढी बस्तीमा पसेपछि अधिकांश घर डुबानमा परेका छन्।

उनका अनुसार शुक्रबार दिउँसोदेखि लगातार परेको वर्षापछि सुस्ताका १०० भन्दा बढी घर डुबानमा परेका हुन्। सुस्तामा करिब २२० परिवारको बसोबास रहेको छ। बाढीका कारण सुस्ताको थारू टोलमा सबैभन्दा पहिले पानी पसेको जैसवालले बताए।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार बाढी प्रभावित घरका नागरिकलाई सुस्तामा रहेको आश्रयस्थलमा राखिएको छ। नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले जोखिममा रहेका महिला, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्तिलाई नदीवारि सुस्ता–५ स्थित बीपी माध्यमिक विद्यालय, बलिनगरमा ल्याउने तयारी भइरहेको छ।

उद्धार तथा स्थानान्तरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। अहिलेसम्म बाढीमा फसेका २९ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा पठाएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए।

स्थानीयका अनुसार बाढीका कारण पक्की घरको तुलनामा कच्ची घरमा बढी क्षति पुगेको छ। खरपात तथा माटोबाट बनेका घरहरू बाढीका कारण जोखिममा परेको सुस्ताका स्थानीय मुन्सीकुमार हरिजनले बताए।

गण्डक ब्यारेज, वाल्मीकिनगरका अनुसार नारायणी नदीमा पानीको बहाव २ लाख ८० हजार क्युसेक पुगेको छ। स्थानीयका अनुसार यो वर्ष नारायणीमा मापन गरिएको सबैभन्दा ठूलो पानीको बहाव हो। पानीको सतह अझै बढिरहेकाले सुस्ता क्षेत्रमा जोखिम कायमै रहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया