कंगो बुकाभुमा विद्यालयमा आगलागी : भागदौडमा २४ बालबालिकाको मृत्यु

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को पूर्वी सहर बुकाभुमा दुईवटा विद्यालयमा भएको आगलागीपछि मच्चिएको भागदौडमा कम्तीमा २४ बालबालिकाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार आगलागीबाट बच्न विद्यार्थी तथा स्थानीयहरू भाग्ने क्रममा भागदौड हुँदा ठूलो मानवीय क्षति भएको हो । घटनामा केही वयस्कको समेत मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बाक्लो बस्ती रहेको कादूतू समुदायमा आगलागी भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ । घटनामा घाइते भएका तथा आगलागीबाट जोगिएकाहरूलाई नजिकका अस्पतालमा लगेर उपचार भइरहेको छ ।

घटनामा करिब ३०० घरसमेत जलेर नष्ट भएका छन् । आगलागीको मुख्य कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

विद्रोहीद्वारा नियुक्त स्थानीय अधिकारीहरूले बिहीबार साँझ २४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक प्रत्यक्षदर्शीले दिउँसोसम्म आगो नियन्त्रणमा आइसकेको बताए पनि जस्तापाता र जलेका भग्नावशेषबाट धुवाँ निस्किरहेको बताएका छन् ।

दक्षिण किभु प्रान्तको राजधानी बुकाभु पहाडी क्षेत्रमा अवस्थित सहर हो । यो कंगोका बढी जनघनत्व भएका सहरमध्ये एक मानिन्छ ।

बुकाभु अहिले विद्रोही एम२३ समूहको नियन्त्रणमा रहेको छ । गत वर्षको फेब्रुअरीमा उक्त समूहले सहर आफ्नो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया