भुलभुलेबाट फर्किँदै गरेको ट्र्याक्टर दुर्घटना, १४ वर्षीय बालकको मृत्यु, १९ जना घाइते
१२ भदौ २०८३, शुक्रबार प्रकाशित
खोटाङ, जनै पूर्णिमा मनाएर घर फर्किने क्रममा यात्रु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मास्थित छेपेखोलाको ओरालोमा शुक्रबार दिउँसो करिब २ बजे भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना.५ त ४५५५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका १४ वर्षीय दिवश परियारको मृत्यु भएको हो। गम्भीर घाइते भएका परियारलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ।
दुर्घटनामा लफ्याङकै ४५ वर्षीय सबिन तिरुवा, ९ वर्षीय योनिस विक, ३५ वर्षीया बिमला विकलगायत १९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचार आवश्यक देखिएका घाइतेलाई काठमाडौंस्थित केएमसी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए।
दुर्घटनापछि प्रहरीले ट्र्याक्टर चालक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको र उठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।