१६ दिनको खोजीपछि पनि भेटिएनन्, इन्जिनियर दम्पतीसहित चारैजनाको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौं । भोटेकोसी बाढीमा बेपत्ता भएको १६ दिनसम्म पनि कुनै खबर नआएपछि बागलुङका एक इन्जिनियर परिवारले आफ्ना चार सदस्यको अन्तिम संस्कार गरेको छ । बाढीमा बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तानको परिवारले बिहीबार (भदौ २५) हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९, तित्याङका ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया श्रीमती प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिती भोटेकोसी बाढीपछि बेपत्ता भएका थिए ।

बाढीपछि लगातार खोजी गरिए पनि १६ दिनसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेन । त्यसपछि परिवारले उनीहरू जीवित भेटिने आशा कमजोर बन्दै गएको अवस्थामा कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो । राजेश परिवारका एक्ला छोरा थिए ।

चारैजनाको अवस्था अझै यकिन हुन नसके पनि हिन्दु संस्कारअनुसार परिवारले अन्तिम विधि पूरा गरेको हो । लामो समयसम्म बेपत्ता रहेका परिवारका सदस्यको खोजीबाट कुनै परिणाम नआएपछि परिवारले यस्तो निर्णय लिन बाध्य भएको हो ।

यसैबीच, भोटेकोसी बाढीपछि अझै १६ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चार जना अझै सम्पर्कविहीन छन् ।

बेपत्ता १६ जनाको खोजी तथा उद्धार प्रयास जारी रहे पनि उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया