देवानगञ्जमा युवक घाइते, गोली चलेको आशंकामा दुई जना नियन्त्रणमा

सुनसरी,  सुनसरीको देवानगञ्ज गाउँपालिकामा आपसी द्वेषपछि भएको आक्रमणमा एक युवक घाइते भएका छन्। घटनापछि स्थानीयले दुई जनालाई नियन्त्रणमा लिएर सुरक्षा निकायलाई बुझाएका छन्।

घाइते युवक यादव थरका रहेको र उनको तिघ्रामा चोट लागेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए। घटनामा गोली चलेको आशंका गरिए पनि त्यसको पुष्टि भने भइसकेको छैन।

घटनाबारे जानकारी पाएपछि सुरक्षा निकायका अधिकारी घटनास्थल पुगेका थिए। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको अर्यालले बताए।

स्थानीयले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएका हुन्। प्रारम्भिक विवरणअनुसार स्थानीय यादव समुदायभित्रको आपसी द्वेषका कारण विवाद बढेपछि आक्रमण भएको देखिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

घटनास्थलमा गोली चलेको हो वा अन्य कुनै हतियार प्रयोग भएको हो भन्ने विषयमा सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ। घटनाको कारण र आक्रमणमा प्रयोग भएको भनिएको हतियारबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया